पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो

Posted on: 26 Jul, 2018

साउन १०, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । रसुवाका डीएसपी सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का र गोसाइँकुण्ड – १ थुमनका मिग्मार गुम्बु तामाङ रहेका छन् । बेपत्ता भएका चारजनाको  खोजी जारी छ । 

स्थानीयवासीका अनुसार करीब चार किमी माथिबाट आएको पहिरोले एक पक्की घर पुर्नुका साथै तीन वटा छाप्रा होटेल र साना ठूला चारवटा सवारीसाधन पूर्णरुपमा पुरिएकोे छ । अहिले स्याफ्रु रसुवागढी खण्डको राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोले तीन घर र पाँच ट्रक तथा टिपरमा पूर्ण रूपले क्षति पुगेको बताइएको छ। पहिरोमा तीन वटा कन्टेनर पनि पुरिएका छन् ।

घटनास्थल सदरमुकाम धुन्चेबाट २५ किलोमिटर टाढा पर्छ। सदरमुकामबाट टिमुरे जाने बाटोको ठाउँ ठाउँमा पहिरो खसेकाले उद्धारमा समस्या भइरहेको बताइएको छ । पहिरोका कारण विद्युत्, टेलिफोन सेवासमेत अवरुद्ध हुँदा भन्सारका कार्य रोकिएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!