सिन्धुपाल्चोकमा धमाधम विद्यालयका कक्षाकोठाको निर्माण

Posted on: 29 Aug, 2018

भदौ १३, चौतारा | गोरखा भूकम्पबाट क्षतिग्रस्त ५२८ विद्यालयका एक हजार ३८० कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा थप एक हजार ३९ कक्षा कोठाको पुनःनिर्माण कार्य सम्पन्न गर्न तीव्रगतिमा काम भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

शिक्षा इकाइले आर्थिक वर्ष २०७३÷७४ मा १०३ विद्यालयको ४६० कक्षा कोठामध्ये १९९ र आर्थिक वर्ष २०७४÷७५ मा १०३ विद्यालयको ४३५ कक्षा कोठामध्ये ३१ सहित २३० कक्षा कोठाको निर्माण कार्य सम्पन्न भएको छ । 

त्यसैगरी ३२२ विद्यालयको साविक जिल्ला शिक्षा कार्यालय र जिल्लामा कार्यरत स्वदेशी तथा विदेशी विभिन्न सङ्घसंस्थासमेतले कूल एक हजार १५० कक्षा कोठाको मर्मत तथा ट्रस्ट निर्माण गरी कक्षा सञ्चालन भएका छन् । 

क्षतिग्रस्त विद्यालयको लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिमार्फत पुनःनिर्माण काम गरिएको छ । शिक्षा इकाइले आव २०७३÷७४ मा रु ५६ करोड २२ लाख ३८ हजार ९०८ र २०७४÷७५ को लागि रु २९ करोड ५२ लाख ४६ हजार ३०७ रुपैया भुक्तान गरिएको छ । 

त्यसैगरी जिल्लाको ३८ विद्यालयको लागि केन्द्रीय आयोजना इकाइ (शिक्षा) मार्फत ठेक्का प्रक्रियाबाट निर्माण काम भइरहेको छ । चालु आव २०७५÷७६ मा ४१ विद्यालयको ११४ कक्षा कोठा निर्माण गर्ने कार्यक्रम रहेपनि हालसम्म छनोटकै चरणमा रहेको छ । त्यसको लागि रु १३ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको लागि प्रत्येक नगरपालिका र गाउँपालिकामा आवश्यक पर्ने कक्षा कोठाको लगत सङ्कलन गरी काम गर्ने नीति लिइएको इकाइ प्रमुख सुवेदीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!