सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

Posted on: 05 Nov, 2018

कात्तिक १९, मेलम्ची | सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । 

जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिनुभयो । 

राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ । घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!