सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु : मेलम्ची पहिरामा हराएका ८ शव फेला

Posted on: 03 Aug, 2020

साउन १९, सिन्धुपाल्चोक। मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।   

बरुवामा घर पुर्दा दुईको मृत्यु  

अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उहाँकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।

उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताउनुभयो । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।”䶺

भोटेकोशी गाउँपालिकाका बाढीपीडितलाई म्याट्रेस 

नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बाढीपीडितका लागि रु तीन लाख ५० हजार बराबरको म्याट्रेस सहयोग गरेको छ । उक्त सहयोग आज गाउँपालिका प्रमुख राजकुमार पौडेललाई हस्तान्तरण गरिएको हो । 

विपत्तिको यस घडीमा सहयोग गर्न पाएकामा नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले खुशी व्यक्त गरेको छ । यो विपत्मा सहयोगको हात फैलाउने सङ्घप्रति गाउँपालिका अध्यक्ष पौडेलले आभार प्रकट गर्नुभयो । गत असार महिनाको बाढीपहिराले भोटेकोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो भने कैयौँ घरबारविहीन भएका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!