नयाँ शक्ति पार्टीको प्रदेश १ र २ को संयुक्त प्रशिक्षण तथा बैठक लहानमा शुरु

Posted on: 19 Mar, 2018

चैत ५, लहान | नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ । 

लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो । 

दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले जानकारी दिनुभयो । 

आज दिनभरि संयोजक डा भट्टराईसहित नेताले प्रशिक्षण दिनुहुने र केन्द्रीय नेताकै उपस्थितिमा भोलि प्रदेश १ र प्रदेश २ को छुट्टाछुटै बैठक बस्ने कार्यतालिका रहेको नेता यादवले बताउनुभयो । 

कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकबाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी कसरी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका अर्का नेता राजेश रामले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!