सिराहामा निर्माण पूर्ण नहुँदै भत्कियो नाला

Posted on: 24 Apr, 2018

वैशाख ११ लहान | सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । 

कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेको स्थानीय नथुनी कामतीले बताउनुभयो । 

नाला निर्माणमा कमसल सामग्रीको प्रयोग हुँदा पनि डिभिजन सडक कार्यालय लहानले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । “समयमा राम्रोसँग प्राविधिक जाँच भएन,” कामतीले भन्नुभयो । 

डिभिजन सडक कार्यालयले रु चार करोड ९३ लाख ६१ हजार लागत चोहर्वा–सिरहा माडर सडकमा नाला, सडक निर्माणको कार्यको ठेक्का धनुषाको रोशन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । सोही ठेक्काअनुसार करीब रु ४० लाखको लागतमा भलुवाहीमा नाला निर्माण गरिँदैछ । 

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर नितिश झाले नाला निर्माणमा कमजोरी नभएको दाबी गर्नुभयो । नालाको निर्माण भइरहेकै बेला वर्षा भएको र नालाको छेउमा माटो नहालिएकाले थेग्न नसकेर भत्किएको उहाँ बताउनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!