गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

Posted on: 10 Jun, 2018

जेठ २७, लहान | पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । 

कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ । 

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । 

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । 

वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । 

गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!