सिरहामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Posted on: 12 Jul, 2018

असार २८ । लहान सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार चारजना घाइते भएको र तीमध्ये गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइते तीनजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा आज ना ५ ख ४८१७ नंको बसले बा ७० प ८०९२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)


यस बिषयमा तपाइको प्रतिक्रिया...!