७० हजार घुससहित गाउँपालिकाका एक कर्मचारी पक्राउ

Posted on: 21 Jul, 2018

साउन ५, लहान | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । 

गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो । 

टोलीका प्रमुख प्रहरी निरीक्षक राजन कार्कीले मण्डलको साथवाट घुसबापत लिएको नगद रु ७० हजार बरामद भएको जानकारी दिनुभयो । 

सकरपुरामा सडक निर्माणको योजना मिलाई दिएबापत मण्डलले उपभोक्ता समितिबाट कमिसनबापत उक्त रकम लिएको अख्तियारको टोलीले जनाएको छ । 

अख्तियारको टोलीले मण्डललाई अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालयमा लगेको जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!