सिरहाका नर्सरी व्यवसायीहरुको बढ्यो व्यस्तता

Posted on: 17 Jul, 2016

राम नारायण पंडित, साउन २, सिरहा । समयमै वर्षा शुरु भएपछि सिरहाका किसानहरुले पर्याप्त मात्रामा विभिन्न फलफूलको बोटविरुबा रोप्न थालेकाले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको हो । सुरेश नर्सरी तथा बागवानी केन्द्र, धनगढी २ का सञ्चालक सुरेश महतोका अनुसार फलफूलका विरुवा सार्ने उपयुक्त मौसम भएकोले अहिले नर्सरी व्यवसायीहरुको व्यस्तता बढेको छ ।


गत वर्ष एक मौसममा आँपको मात्र ५० हजार विरुवा बेचियो, यो वर्ष ६५ हजार आँपको विरुवा बिक्रीको लागि तयारी रहेको महतोले बताए । महतोले चार विगहा जमिनमा विभिन्न जातका विरुवाहरु लगाउनु भएको छ । एक वर्षमा झण्डै ७०/७५ हजार सबै जातको बिरुवा बिक्री हुने उहाँले जानकारी दिनु भयो । बनस्पति शास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएका महतोले आफ्नो योग्यता अनुसार नर्सरी व्यवसायले राम्रै आम्दानी भईरहेको जानकारी दिनुभयो । महतोले अहिले लिजमा लिएको ५ बिघा जमिनमा नर्सरी लगाएको बताउनु भयो ।


अर्का नर्सरी व्यवसायी फुलकहाकट्टी ९ का श्रीदेव चौधरीले सात बिघा जमिनमा नर्सरी लगाउनु भएको छ । सरकारी जागिर छोडेर यो व्यवसायमा लागेका चौधरीले भन्नु भयो–‘सरकारी जागीरमा लागेको भए यति सम्पत्ति जोड्न सक्ने थिइन, अहिले नर्सरी व्यवसायले राम्रो सम्पत्ति आर्जन भयो र सबै भाईहरु पनि यसै पेशामा निर्भर भएका छन् । त्यस्तै, जय शंकर बागवानी केन्द्र, पडरीयाले यो वर्ष ५० हजार बिरुवा बिक्री गर्ने लक्ष्य रहेको संचालक दिनेशकुमार चौधरीले बताउनु भयो । आफ्नो नर्सरीमा आँप कठहर, लिच्चि, अम्वा, सपेता, बास लगाएत विभिन्न जातका फलफूलको विरुवा उत्पादन हुने चौधरीले जानकारी दिनु भयो ।


सिरहा जिल्ला कृषि विकास कार्यालय सिरहाका बागवानी विकास अधिकृत राम नारायण महतोका अनुसार जिल्लाका विभिन्न गा.वि.स.मा गरी करिब ७५ बिघा जग्गमा ८० वटा भन्दा बढी नर्सरी रहेको छ । जिल्लामा वार्षिक रुपमा करिब १० करोड रुपैया भन्दा बढीको कारोबार हुने अधिकृत महतोले उल्लेख गर्नुभयो । सिरहाका नर्सरीमा उत्पादन गरिएका आँपका बिरुवाहरु पूर्व मेचीदेखि महाकालीसम्मका विभिन्न जिल्लाका किसानहरुले लगिरहेको व्यवसायीहरुले जनाएका छन् । 

 

 

 

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!