सिरहामा पेट्रोलियम पदार्थको अभाव

Posted on: 21 Mar, 2017


चैत ८, लहान । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । 

विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घन्टौँसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा रु एक सय ५० प्रतिलिटरका दरले पेट्रोल किनेर प्रयोग गर्नु परिरहेको सिरहा माड्रका रामानन्द गुप्ता बताउनुहुन्छ । 

प्रतिलिटर रु एक सय दुई पर्ने पेट्रोल लिन घन्टौँ लाइन लाग्दासमेत पाउन नसकेको उहाँले बताउनुभयो । सहज रुपमा पटो«लियम पदार्थ आपूर्ति भइरहेको भए पनि तस्कर र पम्प सञ्चालकको मिलेमतोमा ग्यालेनमा भरेर भारतीय बजार पठाउने गरेको सर्वसाधारणको गुनासो छ । 

सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालभन्दा करिब चार रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ । सोही कारण नेपालबाट भारततर्फ पेट्रोल तस्करी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पेट्रोल पम्पको अनुगमन गर्न चासो नदिएको उपभोक्ताको गुनासो छ । 

गोलबजारस्थित नवदुर्गा ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक रामसगुन यादव एकपल्ट बिक्री वितरण प्रक्रिया खल्बलिँदा सहज हुन कम्तीमा १५ दिन लाग्ने बताउनुहुन्छ । ट्याङ्कर सञ्चालकको आन्दोलन, मधेसमा फागुनको तेस्रो हप्ता भएको बन्द हडताललगायत कारणले पेट्रोलियम पदार्थको आपूर्ति केही असहज भएको उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!