सिरहामा २१९ मतदान केन्द्र तोक्न सिफारिस

Posted on: 12 Apr, 2017

चैत ३०, लहान । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सिरहामा निर्वाचनको तयारीले गति लिएको छ । 

निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी यहाँका ठूला राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई गति दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा २१९ मतदान केन्द्र सिफारिस गरेको छ । 

मधेसवादी दलको अवरोधका कारण मतदान केन्द्र निर्धारण गर्न नसकेको निर्वाचन कार्यालयले मधेसवादी दलबाहेक अन्य राजनीतिक दलका प्रतिनिधिको सहमतिमा मतदान केन्द्र टुङ्ग्याएको निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवले जानकारी दिनुभयो । 

प्रमुख यादवअनुसार राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका कार्यकारी अधिकृतको सहमतिमा दोस्रो संविधानसभा निर्वाचनमा रहेको सिरहाको नवराजपुर गाउँपालिकाको साबिक मझौरा गाविस भवन, विष्णुपुर गाउँपालिकाको प्रावि अमहा गडिया, सिरहा नगरपालिकाको प्रावि पदमपुर, लहान नगरपालिका साबिक पडरिया गाविस भवन र धनगढीमाई नगरपालिकाको महावीर उच्च मावि मतदान केन्द्र खारेज गरिएको छ । 

यस्तै भगवानपुर गाउँपालिका–३ साबिक इनर्वा ४, ५ र ६ को मतदान केन्द्र रहेको प्रावि गैरसाहा, नवराजपुर गाउँपालिकाअन्तर्गत साबिक इनर्वा–३ को मतदान केन्द्रलाई मझौरास्थित रमेश महतो स्मृति जनता निमावि मतदान केन्द्र कायम गरिएको छ । 

त्यस्तै, विष्णुपुर गाउँपालिका–३ मा साबिक राजपुरको ४, ६, ७, ८ र ९ नं वडाका लागि जमावि राजपुर, नवराजपुर गाउँपालिका–२ को साबिक मझौरा ६ देखि ९ नं वडाको राज प्रावि मझौरा, विष्णुपुर गाउँपालिका–२ स्थित जप्रावि राजपुरमा साबिक राजपुर १, २, ३ र ५ को मतदान केन्द्र कायम गरिएको छ । 

लहान नगरपालिका–११ साबिक पडरिया गाविसको १ देखि ५ सम्म पडरिया थारू टोल चौतारा, गोलबजार नगरपालिका–५ स्थित कवीर प्राविमा साबिक असनपुर गाविसको २, ३ र ४ का लागि मतदान केन्द्र तोकिएको छ भने गोलबजारु नगरपालिका–७ स्थित साबिक गाविस भवनमा तत्कालीन चन्द्रलालपुर गाविसका २, ३, ४ र ७ तथा धनगढीमाई नगरपालिका–८ मा साबिक अयोध्यानगर गाविसको १, २, ६, ७, ८ र ६ नं वडाको सामुदायिक भवन कसहा चोकमा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी उत्तम भट्टराईले जानकारी दिनुभयो । 

अन्य मतदान केन्द्र दोस्रो संविधानसभा निर्वाचनमा रहेकै स्थानमा कायम राख्ने सहमति भएको उहाँले बताउनुभयो । गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहामा २१६ वटा मतदान केन्द्र रहेको थियो । 

यस्तै निर्वाचनलाई लक्षित गरी वैशाख पहिलो सातादेखि गाउँ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको प्रमुख यादवले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन जारी राखेका कारण समयमा निर्वाचन हुने नहुने आशङ्काका बीच तीन ठूला दलले पनि निर्वाचनको तयारी जुटेका छन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), राप्रापालगायतका दलले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा राजनीतिक गतिविधि बढाएको छ । केही दिन अघिदेखि निर्वाचनको तयारी थालेको नेपाली काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँगाउँसम्म पु¥याएको छ । 

नेपाली काँग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि उम्मेदवार सम्भावित उम्मेदवारको छनौट, अगुवा कार्यकर्ताको प्रशिक्षक तथा नियमित बैठक र छलफललगायत गतिविधि गरिरहेको छ । 

नेकपा (एमाले)ले पनि मधेसी मोर्चाको अवरोधका बीच सिरहामा आन्तरिक प्रशिक्षण, पार्टी प्रवेश लगायतका कार्यक्रम सुरु गरेका छन् । यसबाहेक निर्वाचनको आन्तरिक रुपमा तयारी भइरहेको एमाले सिरहाका नेताहरुले बताएका छन् । 

संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सूची तयारी तथा बैठक र छलफल नियमितरुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । 

करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ठूला दल गाउँगाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भए पनि मधेसवादी दलको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीयवासी बताउँछन् । 

एक लाख ७५ हजार १८४ पुरुष, एक लाख ५६ हजार ४११ महिला र एक तेस्रोलिङ्गी गरी कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता रहेको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!