यातायात कार्यालयमा प्रेसर कुकर बम विस्फोट

Posted on: 11 May, 2017

बैशाख २८, लहान । अज्ञात समूहले आज दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । 

दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा यत्रतत्र छरिएका छन् । बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन् । कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा बम विस्फोट हुँदा सेवाग्राहीमा भागदौड मच्चिएको थियो । बम विस्फोटन पछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ सो कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले दिउँसो आफ्नो कक्षामा कार्यालयका कर्मचारीसँग छलफल गरिरहेका बेला एक्कासि ठूलो बम विस्फोट भएको बताउनुभयो । 

कुनै पनि समूहबाट चन्दालगायतको धम्की नआएकाले किन र कसले बम विस्फोट गराएको हो रु यसबारे आफू अनभिज्ञ रहेको प्रमुख न्यौपानेले बताउनुभयो । 

यता इप्रका, लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले विस्फोट गराउने समूहको खोजी भइरहेको बताउनुभयो । विस्फोटपछि लहानको अवस्था त्रस्त छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!