सिरहाः म्यादी प्रहरीको जागिरका लागि हजारौ युवायुवती लाईनमा

Posted on: 15 Oct, 2017


राम नारायण पंडित | असोज २९, सिरहा | सिरहामा म्यादी प्रहरीमा आवेदन दिन आउने युवायुवतीहरुको भिड बढ्दै गइरहेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय सिरहा परिसरमा म्यादी प्रहरीको आबेदन दिने कार्य भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन भेट्वालले बताए । 

जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, गोलबजार र मिर्चैयाबाट म्यादी प्रहरी भर्नाको लागि आबेदन फारम वितरण भईरहेको भएपनि दर्ता जिल्ला प्रहरी कार्यालय सिरहामा नै भईरहेको डिएसपी भेटबालले जनाएको छ । 

आवेदन दिनका लागि गाउँ–गाउँबाट ठुलो संख्यामा आएका युवायुवतीहरु  चर्को घाम र गर्मीको प्रवाह नगरी दिनभरि लाइनमा बसेरै भए पनि आवेदन दर्ता गराईरहेका छन् । जिल्लाको विभिन्न ईलाका र ग्रामीण क्षेत्रमा प्रहरीको ईकाई भएपनि म्यादी प्रहरी भर्नाको लागि जिल्ला प्रहरी कार्यालयमै आउने प्रावधान रहेकोले कठिनाई भईरहेको आवेदकहरुको गुनासो रहेको छ । 

देशमा बढ्दै गएको बेरोजगारीका कारण छोटो समयको लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिन आउने आबेदकहरुको संख्यामा बृद्धि भएको छ । मंसिर १० र २१ गते हुन लागिएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले देशभरीबाट ९८ हजार भन्दा बढी म्यादी प्रहरी माँग गरेको छ । 


२८ गतेसम्म ६ हजार ८ सय ४४ आवेदन दर्ता 

असोज २८ गतेसम्म सिरहामा ६ हजार ८ सय ४४ आबेदन दर्ता भएका छन् । जसमा ६ हजार २ सय ७३ पुरुष र ५ सय ७१ महिलाको आबेदन परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी भेटवालले जनाएको छ ।  

असोज ३० गते ५ बजेसम्म आवेदन दर्ता गरिने डिएसपी भेटवालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!