मोटरसाइकलको ठक्करबाट घाइते साहको मृत्यु

Posted on: 14 Dec, 2017

मङ्सिर २८, लहान । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित सडकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । 

मिर्चैया नगरपालिका–१ स्थित राजमार्गमा मंगलबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको स ८ प ८३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ५० वर्षीय चन्देश्वर साहको उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेपछि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ । 

सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मिर्चैया नगरपालिका–१ निवासी २६ वर्षीय मुकेशकुमार कापरको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!