सिरहाका शीतलहर पीडितलाई पोखरेलीको राहत

Posted on: 10 Jan, 2018

पुस २६, पोखरा । असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ । 

उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले पीडित व्यक्तिलाई मंगलबार न्यानोका लागि राहत वितरण गरिएको रेन्बो चिल्ड्रेन होमका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो । 

राहत सामग्रीमा कम्बल, ज्याकेट, टोपी, ट्राउजर, मोजा, जुत्ता, चप्पल, गलबन्दी, म्याट्रेस, स्विटरलगायत न्यानो कपडा रहेको बताउँदै उहाँले उक्त क्षेत्रमा पुग्दा त्यहाँको मुसहर बस्तीमा व्यवस्थित घर नरहेको र उनीहरू चिसो भुइँमा पराल ओछ्याएर बस्न बाध्य रहेको पाइएको उल्लेख गर्नुभयो । 

“अत्यधिक गरिबीका कारण उनीहरूसँग न्यानो कपडा नभएको र बालबालिका नाङ्गै खुट्टाले हिँड्ने भएकाले चिसोको कारण बिरामी पर्ने गरेको पायौँ,” – ढकालले भन्नुभयो । 

रोट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सेजले कपडा संकलनमा सहयोग गरेको थियो । उक्त राहत वितरणमा अन्दाजी रु पाँच लाख बराबरका सामग्री प्रदान गरिएको थियो । 

न्यानो राहत वितरण कार्यक्रममा गोलबजार नगरपालिका प्रमुख देवनाथ शाह, प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, वडाध्यक्षहरू, वडादस्यहरू, प्रहरी प्रशासन र स्थानीय समाजसेवीको रोहबरमा न्यानो राहत वितरण गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!