सिरहा: नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

Posted on: 12 Feb, 2018

माघ २९, लहान । नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो । नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज.५प ६२०९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

तालाबन्दीका कारण कलेजको पठनपाठन प्रभावित 

यसैगरी, विद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्ययनरत करिब ४०० विद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित भएका छन् । 

कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीले आइतबार आगजनीसमेत गरेका थिए । आक्रोशित विद्यार्थीले कलेजको डेक्स र बेन्चबाहिर ल्याएर आगजनी गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!