भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

Posted on: 19 Apr, 2018

वैशाख ६ लहान | सरकारले भारतीय बजारबाट कुखुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । 

भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ । 

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम रहेको छ । भारतीय सीमासँग जोडिएको सिरहाको भगवानपुर, माडर, बरियारपट्टि, ठाडी, जिझौललगायत बजारमा सेतो अण्डा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासी बताउँछन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा बरियारपट्टि, झाझपट्टि, माडर, ठाडी, कुसण्डीलगायत नाकाबाट भारतीय कुखुरा र अण्डा तस्करी हुने गरेको छ । 

भारतीय कुखुराको मासु प्रतिकिलो रु ५० देखि रु १०० सम्म सस्तो पर्छ । झाझपट्टि नाकाबाट दैनिक १० देखि १५ भ्यान भारतीय कुखुरा तस्करी भएर लहान, गोलबजारलगायत बजारमा पुग्ने गरेको कुसण्डीका रामप्रसाद यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले अँध्यारोमा तस्करी हुन्थ्यो, अहिले त दिउँसै हुन थालेको छ ।” 

कुखुरा तस्करी गर्न साइकल, मोटरसाइकल र चारपाङ्ग्रे भ्यानसमेत प्रयोग हुने गरेको स्थानीयवासी बताउँछन् । प्रहरीले गत फागुन १७ गते लगठी गोठ नाकाबाट जिपसहित रु आठ लाख ५० हजार बराबरको कुखुरासहित तस्करलाई पक्राउ गरिएको थियो । 

माडरस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख चन्द्रकिशोर यादव भारतीय कुखुरा र अण्डाको तस्करी भइरहेको स्वीकार्नुहुन्छ । उहाँले कुखुरा र अण्डाको तस्करी रोक्न सम्बन्धित निकायले आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताउनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!