सिरहामा गाँजासहित तीनजना पक्राउ

Posted on: 12 Aug, 2018

साउन २७, लहान | प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । 

खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ५५ वर्षीया मदिना मिया रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाको साथबाट १५ किलो जीरा, एक क्विन्टल सुजी, रसगुल्ला र पापड लगायतका समान बरामद भएको प्रहरीले जनाएको छ । बरामद समानसहित दुवै महिलालाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइएको छ । 

पोखरीमा डुबेर बालिकाको मृत्यु 

सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको छ । नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!