साउनको सोमबार: असल श्रीमान पाउँने आशा

Posted on: 13 Aug, 2018

राम नारायण पंडित | साउन २८, सिरहा | साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउन महिनामा परेको सोमबारको दिन सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । असल श्रीमान पाउँने उदेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरु बमहरुले बताउछिन् ।

महिलाहरु हातमा मेहन्दी, चुड्डी र हरियो बस्त्रमा अहिले नव दुल्हही झै सजिएकी छिन् । पहिले गाउँघरमा मेहन्दी पाईंदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्ने गर्थे । तर हिजो आज गाउँ–गाउँमा पनि मेहन्दी पाइन्छ । के सहर के गाउँ अहिले साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ ।

धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई स्वीकार गरेका छन् । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

साउन महिना भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा युवापिढीहरुले लिने गरेका छन् । साउन महिनाको सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुष बमहरुको घुइँचो लाग्ने गरेको दृश्यले थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । साउन महिनामा सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । “साउन महिनामा व्रत बस्नाले चाहेको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ” उनीहरुको भनाई रहेको छ । अविवाहित युबतीहरु असल श्रीमान पाउँन र विवाहितहरु श्रीमान र सन्तानको दिर्घायुका लागि ब्रत बस्ने गरेको बताईन्छ । 

हरियो चुडा, मेहन्दी र हरीयो कपडामा सजिनेहरुमा कलेजमा अध्ययनरत युवतीहरुको संख्या पनि उल्लेखय रहेको छ भने विद्यालय स्तरको छात्राहरु पनि त्यही किसिमले सजिएकी छिन् । यति मात्र कहाँ हो र भर्खरै विबाह भएको महिला होस वा प्रौढ सबै अहिले नब कनिया जस्तै सजिएकी छिन् । साउनमा सोमबारी पुरुषहरुले पनि गरिरहेको भएपनि महिलाको संख्या बढि रहेको पाइन्छ । अविवाहित पुरुषहरुले आफुले सुन्दर सुशिल स्त्री पाउन र विवाहित पुरुषहरु सन्तानको सुख शान्ति प्राप्त होस भन्दै सोमबारी (बोलबम) ब्रत बस्ने गरेका छन् । विभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने सोमबारीको विशेषता रहेको छ । 


भगवान शिवलाई दुध, जल, बेलपत्र, धुथुर र हरियो पुजा सामग्रीहरु मन पराउने भएकाले शिवालयहरुमा श्रद्धालुभक्तजनहरुले उक्त बस्तुहरु चढाई पुजा अर्चना गरिरहेका छन् । यदी पौराणिक मान्यतालाई हेर्ने हो भने साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

अहिलेको समयमा आएर बोलबम पनि एउटा फैसन जस्तै भईसकेको छ । बोलबमको नाममा अत्याधिक मादकपदार्थ सेवन गरि होहल्ला गर्ने देखि लिएर उच्छृ्रंखल गतिबिधिको साथै अनैतिक क्रियाकल पनि हुने गरेको पाइन्छ । यस्तो कार्यलाई “यथासिध्र रोक्नु पर्छ नत्र यसले भोली गएर अर्को रुप पनि लिन सकिन्छ । यो धर्म माथिको ठाडो प्रहार हो ।” “आफ्नो धर्म सांस्कृतिलाई आफैले जर्गेना र बचाएर राख्नु पर्छ ।” 


यस बिषयमा तपाइको प्रतिक्रिया...!