युवाको वैदेशिक रोजगारमा आकर्षण

Posted on: 11 Jun, 2019

जेठ २८, सिरहा । कृषि र पशुपालनलाई मुख्य पेशा बनाई जीविका चलाउँदै आएका यहाँका युवाको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढन थालेको छ । थोरै जग्गा भएका युवा जीविका चलाउन कृषि पेशाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने क्रम तीब्र भएको छ । 

कृषि र पशुपालन व्यवसायबाट छ महिनामात्र खान पुग्ने भएकाले यहाँका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दै आएका थिए । परिवर्तित समयानुसार वैदेशिक रोजगारीबाट आफ्नो आर्थिक अवस्था सुदृढ हुने आशामा बैंकमा जग्गा धितो राखेर वा दृष्टिबन्धकी गरेर रकमको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य छ । 

ऋण गरेर वैदेशिक रोजगारीमा जाने युवाले कमाएर ल्याउने रकमबाट घरखर्च चलाउन र ऋण तिर्नमै ठिक्क हुने भएकाले उनीहरूले आफ्नो आर्थिक अवस्थामा खासै परिवर्तनको आभाससमेत पाउन सकेका छैनन । वैदेशिक रोजगार कम्पनीले परिचालन गरेका दलालको प्रलोभनमा परी अधिकांंश  युवा विदेशिने गरेका छन् ।  

अधिकांश युवा मलेसिया, साउदीअरब, कुवेत, कतारलगायतका देशमा मजदुरीका लागि जाने गरेका लक्ष्मीपुर पतारीका रामपुकार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी र जानकारीको अभावमा युवाहरु बढीभन्दा बढी शुल्क बुझाउन बाध्य छन् ।”

आपूm कुन देश जाँदैछु भन्नेसम्म गाँउ घरका धेरै युवालाई जानकारी नहुने भएकाले दलालले एक कामका लागि भनिएकामा अर्कै काममा पठाउने गरेका र सजिलो काम भनेर धेरै युवालाई बढी श्रम गर्नुपर्ने जोखिमयुक्त क्षेत्रमा पठाइएको साउदीबाट केही दिन पहिला फर्केर आउनुभएका इन्दल साहले बताउनुभयो । 

कृषि पेशाबाट परिवारको जीविका चलाउन नसकेकाले नै युवाको विदेसिने क्रम बढेकाले सरकारले आवश्यक मल, बीउविजन, कृषि उपजको मूल्य निर्धारण एवम् बजारीकरणको व्यवस्था गरेर उनीहरूलाई विदेसिनबाट रोक्न सक्नुपर्ने उहाँको तर्क छ ।

वैदेशिक रोजगारमा गएका परिवारको अवस्थामा परिवर्तन आएको बताउँदै लक्ष्मीपुर पतारी पूर्वप्रअ निलाम्बर सिंहले भन्नुभयो, “उनीहरूले पठाएको रकम उत्पादनशील क्षेत्रको सट्टा घरजग्गा र मोटरसाइकल किन्नमै बढी खर्च गर्ने गरेका छन् ।” दलालले अधिकांश युवालाई भारतीय विमानस्थलको प्रयोग गरी विदेश पठाउने गरेकाले उनीहरू बढी जोखिममा रहेका मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो । 

विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने, अभिमुखीकरण तालीम, बीमा, वैदेशिक रोजगार कम्पनीसँग रकम बुझाएको सक्कली रसिद लिनुपर्ने र ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्ने बारे चेतना अभावकै कारण अधिकांश युवा दलालमार्फत भारतीय विमानस्थलको प्रयोग गर्दै वैदेशिक रोजगारमा जाने गरेका उहाँको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!