प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा सङ्क्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित ?

Posted on: 13 May, 2020

वैशाख ३१, महोत्तरी | प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । 

कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन/तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन ।

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा मङ्लबार मात्र २११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा जम्मा मङ्गलबारसम्म तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो । 

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो । अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ । 

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका तीन हजार ९३६ मध्ये दुई हजार ७५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र दुई हजार ६५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये एक हजार १८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।

पछिल्लोपटक ह्वात्तै सङ्क्रमित बढेपछि यहाँका अस्पतालमा सङ्क्रमितको उपचारका श्ययाको अभाव खट्किँदैछ । जनकपुरको प्रादेशिक अस्पतालमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन् । पर्साको पोखरियामा थप आठ श्ययाको व्यवस्था छ । पर्सामा मात्रै ८२ सङ्क्रमित भएपछि श्यया अभाव खड्किएको हो । 

महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको झाले बताउनुभयो । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । 

प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । प्रदेशभरिका १७९ क्वारेन्टाइन केन्द्रमा एक हजार ४६८ जना र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ५२२ रहेको निर्देशनालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!