मिर्चैयामा लकडाउन

Posted on: 06 Aug, 2020

साउन २२, सिरहा | सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंग आग्रह गरेको छ । 

यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् । होम आइसोलेसनमा बस्नुभएका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उहाँकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जित्नुभएको हो । 

ती दम्पतीले  आत्मबल बलियो बनाई स्वास्थ्यकर्मीको सुझावअनुसार नियमितरुपमा तातोपानी तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गरेकाले कोरोनालाई सजिलै जितेको बताउनुभयो ।

भारतबाट परिवारसहित फर्किनुभएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । ती वृद्धको प्रत्यक्ष सम्पर्कमा आउनुभएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा  साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!