तमलोपा नेता ठाकुरको घरमा चोरी गर्ने पक्राउ

Posted on: 27 Sep, 2016

असोज ११, काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

सर्लाही, पिडाडी गाविस घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भई पेप्सीकोलामै बस्दै आएका ‘प्रमानन्द’ भन्ने प्रचण्ड प्रताप सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 

सो समूह जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ब्रिफकेस चोरी गरी फरार रहेको थियो । ब्रिफकेस चोरी फरार रहने क्रममा अध्यक्ष ठाकुरकी छोरी डा मिनाक्षी ठाकुर (झा)लाई खुकुरी देखाई आक्रमण गर्नुका साथै खुर्सानीको धुलोसमेत फ्याँकेको प्रहरीले जनाएको छ । 

पक्राउ भएका दुवै जनाले योजनाबद्ध तवरबाट जबर्जस्ती घुसेर चोरी गरेको र आएको रकम बाँडेर खाने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!