पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

Posted on: 02 Oct, 2016

असोज १६, हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ । 

आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । 

आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ आज अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!