नवरात्रको अबसरमा १०८ दुर्गासप्तसती चण्डी पाठ हुँदै

Posted on: 03 Oct, 2016

असोज १७, हेटौडा | नवरात्रको अबसरमा कुश्माण्ड सरोबर त्रिबेणीधाममा १०८ दुर्गासप्तसती चण्डी पाठ भइरहेको छ । हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पाठ गर्ने गरिएको समितिले जनाएको छ । 

नवरात्रभरमा १०८ दुर्गासप्तसती चण्डी पाठ पूरा गर्नुपर्ने भएपनि पाठ गर्ने व्यक्तिहरूको अभाव रहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले सो कार्यक्रममा सहभागी भई पाठ गरिदिनु हुन सबै ईच्छुक महानुभावहरूलाई आग्रह गर्नुभएको छ । सो पाठ कार्यक्रममा सहभागी भई आफूले सकेजति पाठ गर्न सकिने पनि उहाँले बताउनुभयो । सो क्षेत्र देवीका नौ वटा स्वरुपमध्ये चौथो स्वरुप कुष्माण्डा देवीको विशेषस्थल हो । सो स्थानमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गर्नुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ त्यसैले नवरात्रभरमा दुर्गासप्तसती चण्डी पाठ गर्ने भक्तजनलाई विशेष पुण्य प्राप्त हुने पण्डित देवीप्रसाद कोइरालाले बताउनुभयो । 

कुष्माण्डा भगवतीको मन्दिरसहित विभिन्न देवीदेवताको मन्दिर रहेको सो क्षेत्रमा नवरात्र तथा कुष्माण्ड नवमीमा विशेष पूजना आराधना हुने गर्छ । अहिले नवरात्रमा पनि बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ । मन्दिरमा घटस्थापनाका दिन जमारा राखी नवदुर्गा स्थापना गरेर हरेक दिन बिहान ५ बजेदेखि नै पूजा आराधना हुने गरेको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!