जुम्लाका अधिकांस खाद्य तथा किराना पसलमा म्याद सकिएको पेय पदार्थ भेटियो

Posted on: 03 Oct, 2016

नन्दराम जैशी । असोज १७, जुम्ला | जुम्लामा संचालित अधिकांस खाद्य तथा किराना पसलमा म्याद सकिएको पेय पदार्थहरु भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा स्याउ प्रशोधन केन्द्रको आयोजनामा आइतबार गरिएको बजार अनुगमनमा यस्तो पाइएको हो । चाडपर्वको बेला हुने मंहगी, कालो बजारी तथा मिति सकिएको सामानहरु विक्रि भए नभएको जानकारी लिनको लागि बजार अनुगमन गरिएको हो ।

जुम्लामा संचालित खाद्य तथा किराना पसलहरु मध्ये १३ वटा पसलको अनुगमन गरिएको छ । जसमा बसपार्कमा रहेको माया स्टेश्नरी तथा सप्लार्यसमा मिति सकिएको कोक फ्यान्टा ५ सय एमएलको २४ वटा र ठुलो जम्बो स्प्राईड ८ वटा भेटिएको छ । त्यस्तै बसपार्कमै रहेको आयुसा जनरल स्टोरमा ७ वटा म्याद सकिएको फ्यान्टा अनुगमनको क्रममा भेटिएको छ । साथै कालिका जनरल स्टोरमा ४८ प्याकेट मिति सकिएको तितौरा भेटिएको छ भने विजयनगरमा अवस्थित लोकेश जनरल स्टोरमा ३ वटा जम्बो स्प्राईड, १२ वटा सानो स्प्राईड र ६ वटा सानो फ्यान्टा म्याद सकिएको भेटिएको हो ।

त्यस्तै विजयनगरमा रहेको राहदेउ थार्प जनरल स्टोरमा ३० प्याकेट म्याद गएको कोल्गेड र २४ प्याकेट म्याद गएको प्राउन भेटिएको अनुगमन टोलीले जनाएको छ । दिर्ग जनरल स्टोरमा ८ वटा जम्बो स्प्राईड, ७ वटा सानो फ्यान्टा म्याद गएको सामान अनुगमनको क्रममा पाइएको छ । रावल प्रेश हाउस तथा जनरल स्टोरमा ३८ वटा सानो फ्यान्टा र ९ वटा जम्बो फ्यान्टा भेटिएको स्याउ प्रशोधन केन्द्रका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका पसलबाट बरामत गरिएको म्याद सकिएको सामानलाई प्रशानको निर्णय अनुसार नष्ट गरिने भएको छ ।

स्थानिय बासीहरुलाई सामानको उत्पादन मिति तथा सकिएको मिति थाहा नहुने भएकाले कुनै पनि सामान विक्रि गर्दा अनिवार्य विल दिन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कविदत्त न्यौपानले आगामि दिनको अनुगमनमा पनि यस्तै कार्य दोहोरीएमा डिलर तथा व्यपारीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईने बताउनु भयो । स्याउ प्रशोधन, उद्योग बाणिज्य संघ, नेपाल प्रहरी जिल्ला प्रशसान कार्यालय र पत्रकारहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!