भोजपुरमा दसैँमा खाद्यान्न अभाव, सप्तचण्डी पुराण

Posted on: 06 Oct, 2016

असोज २०,  भोजपुर । जिल्लाको पश्चिमी गुप्तेश्वर तथा सिद्धेश्वर गाविसमा दसैँ, तिहार नजिकिएसँगै नुन, तेललगायत खाद्यान्नको अभाव देखिन थालेको छ । 

चाडपर्वका बेला आवश्यकताअनुसारको सामान लिन नपाउँदा स्थानीयबासिन्दा मारमा परेको स्थानीय लक्ष्मण चौहानले बताउनुभयो । 

ढुवानी समस्याका कारण आवश्यकताअनुसार खाद्यान्नको आपूर्ति गर्न नसकेको व्यापारी भलाकाजी खड्काले बताउनुभयो । केही दिनमै सडक राम्रो भएमा सामान आपूर्ति सहज हुने व्यवसायीको भनाइ छ । 

चम्पेमा सप्तचण्डी पुराण 

यसैबीच, दलगाउँस्थित बेहेरेश्वर महादेव मन्दिरको सरसफाइ गरिएको छ । पुरातात्विक महत्व बोकेको मन्दिर संरक्षणको अभावमा जीर्ण हुँदै गइरहेकाले यसको संरक्षण र संबद्र्धनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीय अगुवाको भनाइ छ । 

साथै, चम्पे गाविसमा रहेको वडारे नयाँ देवीथानमा पण्डित सोमनाथ कोइरालासहित नौ जना पण्डितद्वारा सप्तचण्डी पुराण सम्पन्न गरिएको छ । 

वडा दसैँको फूलपाती पूजा गर्नुपुर्व यस देवीथानमा परम्परादेखि नै होमादी दिने कार्य गरिँदै आइएको र सदाका वर्षमा झैँ यस वर्ष पनि होमादी गर्ने कार्यक्रम सम्पन्न भएको चम्पेका स्थानीय सरस्वती फुयाँलले जानकारी दिनुभयो । 

पुराणमा चम्पे तथा याङपाङ गाविसका अधिकांश श्रद्धालु भक्तजनको सक्रीय उपस्थिति रहेको थियो । पण्डितले देवीलाई पूजाअर्चना गरेपछि देवी खुसी भई खेतीपातीलाई दैविक प्रकोपबाट जोगाउने जनविश्वास रहँदै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!