पहिलो पटक ग्रामिण सडकमा टिकटको व्यवस्था

Posted on: 07 Oct, 2016

प्रकाश बम | असोज २१, डोटी | यातायात व्यवस्थापन समितिले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न निर्देशन दिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

यसअघि वुधबार बसेको बैठकले तोकिएको भाँडादर विहिबारबाट लागु गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको थियो । तर, राजपुर–वायल–चवरा चौतारा सडकखण्डको स्थिति नाजुक रहेको भन्दै यातायात व्यवसायीले सो भाडादर समायोजन गर्न मानेका थिएनन् ।

उल्टै विहिबार विहानै देखि पहिलेको तुलनामा अत्यधिक भाडा अशुलेका छन् । सोही कारण प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले विहिबार अकस्मात बैठक बोलाए । बैठकमा सडकको मर्मतका लागि शुक्रबार देखि नै डिभिजन सडक कार्यालय कुलपातेलाई डोजर पठाउन समेत निर्देशन दिइयो । 

यस्तै, यातायात व्यवसायीले शुक्रबारदेखि नै सबै सडकहरुमा तोकिएकै भाडादर कायम गर्न कडाईका साथ निर्देशन दिइएको छ । यदि यसो नभए कडा कारबाही  गर्ने समेत निर्णयमा उल्लेख छ ।


यसबाहेक यात्रा गर्दा सबै यात्रुहरुलाई अनिवार्य टिकट पनि उपलब्ध गराउनुपर्ने निर्णयमा भनिएको छ । साँझ ५ बजेपछि कुनै पनि ग्रामीण सडकमा सवारी नचलाउन समेत निर्देशन दिइएको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले वनलेक–उच्चाकोट सडकखण्डमा सवारी चलिरहेको कुरा आएको बताउदै अब त्यहाँ फेरि त्यसरी सवारी चलेको पाइए कारबाही हुने बताए ।

सो सडकलाई अस्थायी रुट परमिट दिइएको छैन । सरकारले देशैभर रुट परमिट  नभएका सडकमा सवारी नचलाउन भनेको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी आचार्यले मापसेमा कडाईका साथ चेकिङ गर्न ट्राफिक प्रहरी तथा प्रहरीलाई निर्देशन दिएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!