कर छुट सुबिधा लिन राजश्व कार्यालयको आग्रह

Posted on: 11 Jan, 2016

पुस २७, हेटौंडा । आन्तरिक राजश्व कार्यालय हेटौंडाले राज्यले दिएको बिषेश सुविधा लिन बिभिन्न व्यक्ति तथा संघ/संस्थालाई आग्रह गरेको छ ।

आर्थिक ऐन २०७२ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखापरिक्षक लगायतका व्यक्ति तथा संघ/संस्थालाई राजश्वमा बिषेश छुटको व्यवस्था रहेको आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत जिवनकुमार न्यौंपानेले जानकारी दिनुभयो । पुस मसान्त भित्रमा परामर्श सेवा प्रदायक सेवा निबृत्त, बहालवाला वा सार्वजानिक पद धारण गरेका पदाधिकारी, कर्मचारी, शिक्षक, प्राध्यापक, लगायतका प्राकृतिक व्यक्तिले तिन बर्षको आय विवरण पेश गरेमा शुल्क तथा ब्याज मिन्हा हुने न्यौंपाने बताउनुभयो ।

आर्थिक बर्ष २०६८/०६९, २०६९/०७० र २०७०/०७१ को आय विबरण र सो अनुसार लाग्ने कर २०७२ पुस मसान्त सम्म आन्तरिक राजश्व कार्यालय हेटौंडामा दाखिल गरेमा सबैं खाले शुल्क, जरिवाना तथा ब्याज मिन्हा हुने न्यौंपानेले जानकारी दिनुभयो । प्रमुख कर अधिकृत न्यौंपानेले पुस मसान्त भित्रमा ३ बर्षको मात्र आय बिवरण पेश गर्नुपर्ने बताउनुभयो । सो भन्दा अघिका आय विवरणहरु पेश गर्न नपर्ने छुटको व्यवस्था भएको पनि न्यौंपानेले बताउनुभयो ।

हालसम्म १ सय ३४ जनाले मात्र यो छुट सुविधा लिएको न्यौंपाने जानकारी दिनुभयो । मकवानपुर जिल्लामा यस्ता प्रकृतिका धेरै करदाता भएपनि छुटको सुविधा नलिएको उहाँले बताउनुभयो । छुट र मिन्हाको सुविधालाई उपयोग गरेर जरिवानाबाट बच्न न्यौंपाने सम्पुर्णमा आग्रह गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!