उद्योगबाटै ६ हजार सिलिण्डर ग्यास गायब

Posted on: 13 Jan, 2016

पुस २९, मकवानपुर / नाकाबन्दीपछिको झण्डै चार महिनाको अवधिमा हेटौडा बसामाडीमा रहेको सहारा ग्यास उद्योगबाट ६ हजार ३ सय वटा आधा भरिएका सिलिण्डर हराएका छन् । उद्योगमा नाकाबन्दीपछी अहिलेसम्म १५ बुलेट ग्यास भित्रिएको छ । १५ बुलेट ग्यासबाट आधा सिलिण्डर ग्यास ३७ हजार ५ सय वटामा भर्न पुग्छ ।

तर कम्पनीले जम्मा ३१ हजार ५ सय वटा आधा भरिएका सिलिण्डर बिक्री गरेको छ । बाँकी ६ हजार सिलिण्डर कम्पनीमा पनि नरहेको र बजारमा पनि पठाएको नपाइएकाले उसले ती सिलिण्डर कालोबजारी गरेको आशंका गरिएको हो ।ग्यासको अभाव हुँदा दाउरा बालेर खाना बनाउन बाध्य भएको बेलामा उद्योगले कालोबजारीमा ग्यास बिक्री गरेको भन्दै उपभोक्ताले बिरोध गरेका छन् ।

सहारा ग्यास उद्योगका म्यानेजर सुदिप घिमिरेले भने आफ्नो कम्पनीमा १५ वटा बुलेट भित्रिएको र त्यो ग्यास ३७ हजार ५ सय वटा सिलिण्डरमा आधा भरेर बजारमा पठाएको दावी गर्नुभयो । घिमिरेले कालो बजारी नगरेको दावी गरेपनि कम्पनीले प्रहरी र स्थानीय प्रशासनलाई ग्यास वितरण बारे दिएको तथ्यांक अनुसार अहिलेसम्म ३१ हजार ५ सय सिलिण्डर मात्र बिक्री भएको देखिएको छ ।

तर घिमिरेले उद्योगबाट मकवानपुर र बाहिरी जिल्लामा ग्यास वितरण भएको तथ्याङक भने तीन पटक माग्दा तीन थरी दिनुभएको छ । उद्योगमा ग्यासका सिलीण्डर पनि छैनन् र बुलेट पनि खाली भइसक्दा ६ हजार भन्दा बढी ग्यासका सिलिण्डर कालो बजारी भएको मकवानपुरका बासिन्दा र सहारा ग्यासका डिलरहरुको पनि आशंका छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले उद्योगले कालोबजारीमा ग्यास बेचेको पाइए कारवाही गर्ने चेतावनी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!