साहारा ग्याँस उद्योगको ठगी, प्रति सिलिण्डर सय ग्राम तौल कम

Posted on: 16 Jan, 2016

LP-gas-cilinderमाघ २, हेटौडा । साहारा ग्याँस उद्योग हेटौंडाले नाकाबन्दीको मौका छोपी ग्याँस भरिएका कम तौलका सिलिन्डर बिक्रीका लागि बजारमा पठाउने गरेको खुलासा भएको छ । आज जिल्ला स्तरिय अनुगमन टोलीले गरेको अनुगमनका क्रममा सिलिण्डरमा ७.१ किलो ग्याँस रहनुपर्नेमा ७ किलोमात्र ग्याँस भरेको फेला परेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडा संयोजक रहेको अनुगमन समितीले उद्योगमा पुगेर परिक्षणका रुपमा आठ वटा सिलिन्डर तौलिएर हेर्दा चार वटा सिलिण्डरमात्र सही तौलको भएको पाइएको हो । अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सचिव बासु खतिवडाका अनुसार नमुनाका रुपमा ८ वटा ग्याँस भरिएका सिलिण्डरको तौल परिक्षण गर्दा ४ वटामात्रै सही तौल हुनुले उद्योगले उपभोक्तालाई प्रति सिलिण्डर सय ग्राम तौल ठगिरहेको बताउनुभयो । यस्तै, उद्योगमा हालसम्म के कति परिमाणमा ग्याँस प्राप्त भयो र कति विक्री वितरण गरियो भन्ने तथ्याङ्क समेत लुकाएको छ । ‘अनुगमनका क्रममा उद्योगमा प्राप्त ग्याँसको परिमाण र विक्री वितरण गरिएको तथ्याङ्क माग्दा समेत उद्योगले नदिनुले कालोबजारी भइरहेको प्रष्ट भएको छ ।’उहाले भन्नुभयो ।

उद्योग अनुगमनका क्रममा ग्याँसको परिमाण तौलने नौ वटा तराजुमध्ये ६ वटा तराजुमा प्रमाणिकरण समेत नभएको भेटिएको छ । अनुगमनपछि तयार पारिएको मुचुल्कामा उद्योगमा कार्यरत कर्मचारीले आफू उद्योगको आधिकारिक व्यक्ति नभएको भन्दै हस्ताक्षर नगरी आफूहरुलाई असहयोग गरेको अनुगमन समितीका संयोजक घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका नन्देश्वर डङ्गोलले बताउनुभयो । निरिक्षण पछि तयार पारिएको मुचुल्का बुझ्न तथा हस्ताक्षर गर्न उद्योगमा कार्यरत कर्मचारीले नमानेपछि सो मुचुल्का ग्याँस उद्योगको गेटमा आफूहरुले टाँसिदिएको अनुगमन समितीले जनाएको छ । हेटौंडामा अचानक भेटिएका नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय विरगञ्जका सहायक रामदेवप्रसादको समेते निरिक्षणमा सहभागिता रहेको थियो । अनुगमनमा सहभागी हुदै उहाले पनि उद्योगमा रहेका सिलिण्डर मध्ये आधाजसोमा सयग्राम तौल कम भएको पाइएकोमा प्रतिकृया दिनुभयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायव सुब्बा मदनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक डम्बर पुरी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको समेत उपस्थिती थियो ।

यसैबिच, उद्योगमा भित्रिएको परिमाणको ग्याँस सर्वसाधारण उपभोक्तालाई नपठाई सहारा ग्याँस कालोबजारीमा सक्रिय बनेको पाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले कारवाही माग गरेको छ । मञ्च अध्यक्ष अजय अधिकारीले उद्योगमा भित्रिएको ग्याँस बिक्री वितरणबारे हालसम्म कुनै तथ्याङ्क नहुनु, कम तौल हुनु लगायतका कमजोरी उद्योगले गरेकाले प्रशासनले कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!