जुम्लामा चिसो बढ्दै, जनजीवन प्रभावित

Posted on: 21 Oct, 2016

नन्दराम जैशी/कात्तिक ५, जुम्ला । जुम्लामा हिजो आज चिसो बढ्दै गएको छ । कार्तिक महिनाशुरु भएदेखि चिसो बढेको हो । 

चिसोका कारण जिल्लाका उच्च भूभागको जनजीवन प्रभावित भएको छ । जुम्लामा चिसो बढ्दै गएपछि जिल्लाको उच्च भुभाग तथा पाटनमा रहेका भेडा, बाख्राहरुपनि गाँउमा ल्याइएका छन् । हावापानि फिल्ड कार्यालय जुम्लाका अनुसार असोज महिनाको तुलनामा कार्तिक महिना शुरु भएलगतै ह्वात्तै चिसो बढेको हो ।

 असोज महिनामा अधिकतम तापक्रम २७ दशमलब ५ डिग्री सेल्सियस र न्युनतम तापक्रम १५ दशमलब ४ डिग्रि सेल्सीयस रहेकोमा कार्तिक महिना शुर भएलगतै अधिकतम तापक्रम २२ दशमलव १ डिग्री सेल्सियस र न्युनतम तापक्रम ४ दशमलब २ डिग्री सेल्सीयससम्म झरेको छ । चिसो बढेदै गए पछि बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।     

 चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया हुन सक्ने भएकाले न्यानो लुगा लगाई राख्न तथा प्रशस्त मात्रामा स्तनपान गराउन पनि उनीहरुले सुझाएका छन् । यस्तै वृद्धवृद्धाहरुलाई श्वासप्रश्वास सम्बन्धि समस्या हुने भएकाले यो समयमा सतर्कता अपनाउन पनि स्वास्थ्यकर्मिको सुझाब रहेको छ ।

 यता मौषम मौसमविदहरुका अनुसार यसवर्षको मनुसन सकिएको र चिसो बढ्दै गएको बताइएको छ । यो वर्ष ढिलो गरी सुरु भएको मनसुन पोहोर भन्दा २० दिन लम्बिएको थियो । सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । मध्य र पश्चिमबाट यसअघि नै सकिएको मनसुन पूर्वी क्षेत्रबाट पनि बाहिरिएको औपचारिक घोषणा गरिएको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।

 मनसुन सकिएपनि वायुमण्डलमा जलवाष्युक्त हावा रहिरहेकाले पूर्वी पहाडका केही भागमा फाटफुट पानी पर्ने सम्भावना रहेको छ । देशभरको तापक्रम बिस्तारै घट्दै गएपछि चिसो बढ्न थालेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!