त्रिबेणी धाम मेलामा दर्शनार्थीहरूको आकर्षण दिनप्रतिदिन बढ्दै

Posted on: 07 Feb, 2016

माघ २४, मकवानपुर । कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मेलामा दर्शनार्थीहरूको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । माघ महिनाभर एक महिनासम्म हरेक वर्ष लाग्ने मकर मेलामा भइरहेको श्रीमद्भागवत गर्गसंहिता सुन्न तथा एकसय ८ गौमुखी धारामा स्नान गर्नका लागि प्रत्येक दिन दर्शनार्थीहरुको आउने क्रम बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शनार्थीहरुको आउने क्रम बढेको छ । अहिले देशका विभिन्न स्थानबाट भक्तजनहरू आइरहेका छन् । विशेष गरी बारा,पर्सा, नवलपरासी,चितवन, काठमाण्डौँ, भक्तपुर,सिन्धुपाल्चोकका मानिसहरुको यसवर्ष आइरहेका छन् । अन्य दिनको तुलनामा शनिबारका दिन धेरै भक्तजनहरु आउने समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । शनिबार गाडि रिजर्भ गरेर देशका धेरै स्थानका दर्शनार्थीहरु आइरहेको उहाँले जानकारी दिनुभयो । एक महिने मकरमेलामा हरेक दिन पण्डित मुरारीप्रसाद चालिसेले श्रीमदगवत कथा बाचन गरिहनुभएको छ । दिउस १२ बजेदेखि ४ बजेसम्म कथा बाचन हुने गर्दछ । साथै चितवनबाट आउनु भएका १९ वर्षिय दृष्टिविहीन गोपाल घिमिरेले पनि कथा भनिरहनु भएको छ ।

रातोमाटे राप्तिपुल बाइपास सडकखण्ड अनतर्गत कर्रा खोलामा कल्भर्ड पुल निर्माण कार्य सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय मकवानपुरको लगानीमा निर्माण गरिएको कल्भर्ड पुल बनेपछि अहिले आवतजावत सहज भएको छ । सो पुलको निर्माणपछि कुश्माण्ड सरोबर त्रिबेणीधाम तथा पदमपोखरी, चुरियामाई, लगायतका स्थानमा आवतजावत गर्नेहरुलाई सहज भएको छ । कुश्माण्ड सरोबर त्रिबेणीधाम विकास समितिको पहल तथा आग्रहमा सडक डिभिजन कार्यलय मकवानपुरले सो पुल निर्माण गरिदिएको हो । सो पुल निर्माण नहुँदा आवत जावत गर्न समस्या थियो । भने मकर मेलामा आउनेहरुलाई समेत समस्या पर्ने गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!