बैतनिक वकिलद्धारा प्रबाह गरिने सेवा प्रभावकारी नभएको गुनासो

Posted on: 24 Oct, 2016

नन्दराम जैशी | कात्तिक ८, जुम्ला | जुम्लामा बैतनिक वकिलद्धारा प्रबाह गरिने कानुनी सेवा प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो रहेको छ । सर्वोच्च अदालतका न्याधिस गोविन्दकुमार उपाध्यायको उपस्थितिमा सम्पन्न भएको न्यायमा पहुचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा ग्रामिण भेगका स्थानीयहरुमा बैतनिक वकिलले गर्ने काम कार्बाहीका बारेमा कुनै पनि जानकारी नभएको सरोकारवालाहरुले बताएका हुन् ।    

बैतनिक वकिल द्धारा प्रदान गरिने कानुनी सेवाका विषयमा सबैलाई जानकारी हुनु पर्ने जुम्लाबासिको भनाई रहेको छ । बैतनिक वकिलले दिने सेवालाई सबैमा सहजरुपमा पुर्याउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । अधिबक्ता दिलबहादुर महतले बैतनिक वकिलद्धारा दिने कानुनी सेवालाई सहज बनाउन कार्यालय व्यवस्थापन हुनुपर्ने बताउनुभयो । पुर्व बैतनिक वकिल समेत रहनु भएका अधिबक्ता महतले हाल सम्म पनि बैतनिक वकिल बस्ने निश्चित स्थान नभएको भन्दै दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको बताउनुभयो ।  

बैतनिक वकिलको जिम्मेबारी तथा क्षेत्राधिकारका विषयमा व्यापक रुपमा जानकारी गराउनका लागि संचार माध्यम संग सहकार्य तथा समन्वय आधारका अगाडी बढ्नु पर्ने उहाँको भनाई रहेको छ । यस्तै महिला अधिकारकर्मी माया नगरकोटीले स्थानीय महिलाहरुलाई बैतनिक वकिलद्धारा प्रबाह गरिने विषयमा जानकारी नभएको बताउनुभयो ।   

अधिकारकर्मी नगरकोटीका अनुसार बैतनिक वकिलले  आर्थिक रुपमा विपन्नहरुलाई निशुल्क सेवा प्रवाह गर्ने भएपनि यसको विषयमा अधिकाँशमा जानकारी नै नहुनु सोचनिय विषय भएको हो । आगामी दिनमा यसलाई प्रभावकारी बनाउन  जिल्लास्थित सम्बद्ध निकायले उचित ध्यान दिनुपर्ने उहाँको भनाई रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!