दिपावली मेला १८ कात्तिकबाट: यसवर्ष भगवती रनिङ ट्रफीको विजेताले नगद १ लाख रुपैयाँ पाउने

Posted on: 24 Oct, 2016

प्रकाश धौलाकोटी/कात्तिक तेह्रथुम । तेह्रथुमको छातेढुंगास्थित पोखरी उच्च मावि परिसरमा वि.स. २०३९ सालबाट लाग्दै आएको पुर्वमै प्रसिद्ध ऐतिहासिक दिपावली मेला यसवर्ष पनि एक सातासम्म भव्यताका साथ लाग्ने भएको छ । 

हरेक वर्षको तिहारलाई लक्षित गर्दै लाग्ने मेला यसवर्ष कात्तिक १८ गतेबाट २६ गतेसम्म विगत वर्षझैं खेलकुद, साहित्यिक, सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु सहित लाग्ने भएको छ ।

खेलकुद विकाससँगै यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउन लाग्दै आएको मेलाको मुख्य आकर्षण पुर्वान्चलस्तरीय भगवती रनिङ ट्रफी फुटबल, भलिबल, व्याडमिन्टन, धान नाँच, बुद्धिचाल लगायत खेलहरु, पुर्वाञ्चलस्तरीय बहुभाषिक कवि गोष्ठी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रायोजन तथा व्यवस्थापनमा सांस्कृतिक कार्यक्रम लगायत रहेको आयोजक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो ।

यस्तै यो वर्ष रोटे पिङ लगायतका मनोरन्जनात्मक खेलहरु समेत सन्चालन हुनेछन् । मेलाका अवसरमा सन्चालन हुने भगवती रनिङ ट्रफीे विजेताले यो वर्ष नगद १ लाख १ सय ११ रुपैयाँ पाउने भएको छ । स्थायी श्रोत नहुँदा वर्षेनि मेला सन्चालनमा समस्या हुँदै आएपनि मेलालाई समय सान्दर्भिक बनाउन यो वर्ष सबै खेल तथा प्रतियोगिताहरुमा पुरस्कार राशी वृद्धि गरिएको खेल सन्चालक समितिका सचिव धनपति चापागाईले बताउनुभयो । 

२०३९ सालमा पाँचथरको अमरपुर बस्ने रामकुमार लिङदेन र नगेन्द्र लिङदेनले स्थापना गरिदिएको २ लाख रुपैयाँको कोषमात्रै मेला सन्चालनको स्थायी श्रोत हो । जसको वार्षिक व्याज ४८ हजार रुपैयाँ हुन्छ । सोही रकममा प्रायोजन, चन्दा सहयोग संकलनबाट थप गरी मेला सन्चालन हुँदै आएको छ । गतवर्ष भगवती रनिङ ट्रफी फुटबलको उपाधि आठराई मितेरी युवा क्लब सक्रान्तिबजारले जितेको थियो । 

मेलाको अवसरमा आयोजित श्रीप्रसाद चापागाई स्मृति पुरुष भलिबल रनिङ ट्रफीतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् । महिला फुटबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार, व्याडमिन्टन सिंगलतर्फ विजेताले ४ हजार र उपविजेताले ३ हजार, व्याडमिन्टन डबल तर्फ विजेताले ७ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

मेलाको अवसरमा आयोजित बहुभाषिक कवि गोष्ठी कात्तिक २३ गते हुनेछ । भने सांस्कृतिक कार्यक्रम कात्तिक २५ गते हुने आयोजकले जनाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!