जुम्लाबाट पूर्व प्रस्तावित पुनःसंरचनाको खाका सिफारिस

Posted on: 25 Oct, 2016

कात्तिक ९, जुम्ला । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाले पूर्व प्रस्तावित पुरानै संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । 

सोमबार स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक हरिनारायण बेल्बासेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उपस्थित व्यवस्थापिका– संसद् सदस्यद्वय गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेसहित जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिको सहमतिमा पुरानै संरचनाको खाका पठाउने निर्णय गरिएको संयोजक बेल्बासेले जानकारी दिनुभयो । 

“जनसङ्ख्या भन्दा विशेष गरी यहाँको भूगोल, प्रशासनिक केन्द्र, सेवा प्रवाहमा सुगमता, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सहमतिलाई मध्यनजरगरी एक नगरपालिका र सात गाउँपालिकाको पूर्व प्रस्तावित खाका सिफारिस गर्ने निर्णय गरिएको हो,” संयोजक बेल्लबासेले भन्नुभयो । 

समितिले प्रस्तावित खाकामा गाउँपालिका, नगरपालिकाको नामाकरण, सीमाङ्कन र प्रस्तावित केन्द्रको सिफारिस गरी पठाउने निर्णय गरेको बताएको छ । यता १,१७७ जनसङ्ख्या रहेको बुम्रमाडीचौर गाविसलाई विशेष क्षेत्रका रुपमा तोकिएको निर्णय पनि आयोगमा सिफारिस गरिएको छ । 

पछिल्लो समयमा सरकारले मुलुकमा ५६५ बाट ७४२ स्थानीय तहको संरचना तयार गर्नसक्ने निर्णय गरेसँगै जिल्लामा प्राप्त भएको परिपत्र बमोजिम प्रस्तावित अन्तिम खाका सिफारिस गरिएको प्राविधिक सहयोग समिति जुम्लाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!