प्रहरी पुगेपछी अवैध गाँजाखेतीकर्ता गाउँबाटै भागे

Posted on: 28 Oct, 2016

कात्तिक १२, गाईघाट (उदयपुर) । उदयपुरको पश्चिमी पहाडी गाविसमा व्यावसायिक रुपमा अवैध गाँजाखेती गर्नेहरु गाँजा नष्ट गर्ने अभियानमा खटिएका प्रहरी आएपछि गाउँबाट फरार भएका छन् । 

प्रहरीले अवैध गाँजाखेती नष्ट गर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने अभियान सञ्चालन गरेपछि उनीहरु भागेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार पहाडी गाविस, रुपाटार, सोरुङछबिसे, इनामे, तावाश्री, झिल्के, बराहा र बाँसबोटे क्षेत्रमा करिब ८० जना प्रहरीले पाँच दिनदेखि गाँजाखेती नष्ट गरिरहेका छन् । 

प्रहरीले यस पटक गाँजाखेती गर्नेलाई पक्राउ गरेर कारबाही गर्ने अभियानसमेत सञ्चालन गरेपछि गाँजाखेती गर्नेहरु घरघरमा चुकुल लगाएर गाउँबाट फरार भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताउनुभयो । फरार भएपनि प्रहरीले घरमूलीको नाम र जग्गाको कितानम्बरसहितका प्रमाण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । 

प्रशासनले यस्तो काम नगर्न प्रत्येक वर्ष पटक–पटक अनुरोध गरेपनि यस क्षेत्रका स्थानीयवासी अटेर गर्दै गाँजाखेतीलाई निरन्तरता दिँदै आएपछि प्रहरीले यसपटक त्यसलाई नियन्त्रण गर्न अभियान नै सञ्चालन गरेको हो । 

यो अभियानमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीबाट ५० जना र सशस्त्र प्रहरीबाट ३० जना सम्मिलित रहेको बताइएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!