डडेल्धुरामा अध्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

Posted on: 28 Oct, 2016

कात्तिक १२, डडेल्धुरा । ‘कृषि, वन, पर्यटन पूर्वाधार, समृद्ध डडेल्धुराको मूल आधार’को साझा धारणा बनाउँदै जिल्लाको आवधिक पाँचवर्षे योजना तयार गरिएको छ । 

मङ्गलबारदेखि सञ्चालन गरिएको तीन दिने कार्यशाला गोष्ठीमा जिल्लाको समग्र विकासका योजनालाई प्राथमिकीकरण गरी रणनीति र चुनौतीका बारेमा समेत छलफल गरी अध्यावधिक योजना निर्माण गरिएको स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । 

सम्बन्धित क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिलाई समूहमा राखी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, सामाजिक व्यवस्थापन, वन, सञ्चारलगायत विविध विषयका समूह बनाई ती क्षेत्रमा विद्यमान अवस्थामा देखिएका समस्या, समस्याको कारण, असर र भावी रणनीतिका बारेमा छलफल गरी समस्या निराकरणका लागि आवधिक योजना तयार पारिएको हो । 

पाँच वर्षका लागि तयार पारिएको आवधिक योजनामा स्थानीय स्रोत साधनको बढी प्रयोग हुने गरी उत्पादन वृद्धिसँगै रोजगारको समेत सम्भावनालाई बढाउने रणनीति तयार पारिएको छ । रणनीतिमा भौतिक पूर्वाधारको निर्माण गर्ने, सञ्चार क्षेत्रको पहुँच र क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय जनशक्तिको क्षमतालाई समेत वृद्धि गर्नेलगायत छन् । 

आव २०५७/५८ देखि आव २०६२/६३ सम्म पहिलो योजना निर्माण भएको थियो भने त्यसपछि दोस्रो आवधिक योजनाका लागि छलफल कार्यशाला गोष्ठी आयोजना गरिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!