मध्यरातको समयमा छोराले आमाको हत्या गरे

Posted on: 31 Oct, 2016

कात्तिक १५, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् । 

प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो । 

कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । 

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो । 

घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा लगिएको प्रहरी चौकी बेलस्रोतका प्रमुख लामाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!