बिदेसबाट मिर्गौला पीडितलाई १७ लाख

Posted on: 05 Nov, 2016

प्रकाश धौलाकोटी | कात्तिक २०, तेह्रथुम | दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । 

उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकासन भएपछि देश तथा विदेशबाट यत्तिका रकम सहयोग वापत संकलन भएको हो । पछिल्लो पटक बेलायतबाट ५ लाख १ हजार ९५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको खिनमायाँ वचाउ अभियानका अगुवा पत्रकार प्रकाश पाक्सावाले बताए । 

यस्तै मलेशियाबाट ५ लाख, कोरियाबाट डेढ लाख, कतारबाट १ लाख ६५ हजार, इजरायलदेखि २७ हजार, हङकङबाट ७० हजार र सहयोगकालागि खोलिएको खातामा जम्मा भएको गरी कुल १७ लाख बढी रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेकी लिम्बुकोे उपचारमा समस्या भएको बारे समाचार पढेपछि विदेशमा रहेका नेपालीबाट रकम संकलन अभियान चलाएको कुरुम्भङ समाज बेलायतका कोषाध्यक्ष शेरबहादुर कुरुम्भङले बताए ।

खिनामायाँको उपचारका लागि विभिन्न देशहरूबाट व्यक्तिगत साथै संस्थागत रूपमा अभियानै संचालन गरी आर्थिक सहयोग अभियान चलाइएको हो । मिर्गौला प्रत्यारोपणकालागि सहयोग संकलन गरिएको भएपनि उपचारमा ढिलाई भएको सरोकारवालाले गुनासो गरेका छन् । यता पिडित खिनमायाका श्रीमान् तिलप्रसाद लिम्बुले भने आफुहरुले उपचारकोलागि प्रयत्न गरिरहेको भएपनि चाडपर्वका कारण अस्पताल र चिकित्सकहरुले ढिलो गरिदिइरहेको बताए ।

 खिनमायालाई अहिले नियमित डाइलोसिस सँगै परीक्षणकालागि काठमाडौं लगिएको छ । काठमाडौको भेनस अस्पतालमा नियमित डाइलोसिस र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको खिनमायाका आफन्तले बताएका छन् ।

 खिनमायाकी आमाले उनलाई मिर्गौला दिन चाहनुभएको छ । अहिले डा. पुकारचन्द्र श्रेष्ठले खिनमायाकी आमाको स्वास्थ्य अवस्थाबारे परीक्षण गरी मिर्गौला प्रत्यारोपणको प्रयास भइरहेको आफन्तले बताएका छन् ।

श्रीमान् तिलप्रसादका अनुसार चिकित्सकले मिर्गौला प्रत्यारोपणकालागि मात्रै झण्डै ७ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर मिर्गौला प्रत्यारोपणको टुंगो भने लागिसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!