आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग

Posted on: 08 Nov, 2016

कात्तिक २३, धनकुटा । धनकुटामा बसोबास गर्दै आएका किरात आठपहरिया जातिले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् । 

किरात आठपहरिया सामाज नेपाल धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । धनकुटानै आफ्नो विशेष थातथलो रहेकाले धनकुटा नगरपालिका क्षेत्रलाई आठपहरिया स्वायत्त क्षेत्र नामाकरण गरी स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस गर्नुपर्ने उनीहरुको माग छ । 

पत्रकार सम्मेलनमा किरात आठपहरिया समाज नेपालका केन्द्रीय अध्यक्ष कमल छाराहाङ आठपहरियाले धनकुटा नगरपालिकालाई आठपहरिया स्वायत्त क्षेत्र उल्लेख नगरी आठपहरिया समुदायको भावना र चाहना माथि तुषारापात गरिएको बताउनुभयो । 

उहाँले आठपहरिया स्वायत्त क्षेत्र घोषणा नगरिए आठपहरिया समुदायले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी समेत दिनुभयो । धनकुटा नगरपालिका क्षेत्रमा करिब १५ हजार आठपहरियाको बसोबास रहेको आठपहरिया समाजले जनाएको छ । 

यसअघि आठपहरिया संरक्षित क्षेत्र धनकुटा नगरपालिका उल्लेख गरी पुनःसंरचना आयोगमा सिफारिस गरिएको भए पनि आठपहरियाले स्वायत्त क्षेत्रको माग गरेका हुन । 

स्वायत्त क्षेत्र हुनलाई ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या हुनुपर्ने प्रावधान छ । कुल ३६ हजार ६१९ जनसङ्ख्या रहेको धनकुटा नगरपालिकामा १५।७ प्रतिशत आठपहरिया जातिको जनसङ्ख्या रहेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताउनुभयो । 

प्रारम्भिक रुपमा धनकुटा जिल्लालाई दुई नगरपालिका र पाँच गाउँपालिका निर्माणका लागि पुनःसंरचना आयोगमा सिफारिस गरिएको छ । तर पनि सोही विषयमा पुनः छलफल गर्नेक्रम चलिरहेको स्थानीय निकाय पुनःसंरचना जिल्ला प्राविधिक समितिका संयोजक पर्वप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!