सहकारी खुलेपछि फेरियो कृषकको जीवन

Posted on: 12 Nov, 2016

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ३, मुसाङखेलका कृषकहरू गाई भैंसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश कृषकहरुको दैनिकी पूर्ण रुपमा गाईभैसी पालनतर्फ केन्द्रित हुन थालेको हो ।  

उनीहरुले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर आत्मनिर्भरको बाटो रोजेका हुन् । सो सहकारीमा मात्रै वार्षिक १ लाख ६५ हजार लिटरसम्म दुध संकलन हुने गर्दछ । 

सहकारीले सन्चालन गरेको दुग्ध संकलन केन्द्रमा दैनिक ४ सय लिटर देखि ५ सय लिटर सम्म दुध संकलन हुने गरेको छ । 

करिब १ सय २० घरधुरी कृषकहरुले सो संकलन केन्द्रमा दुध जम्मा गर्दै आएका छन् । सहकारीमार्फत ऋण लिई परम्परागत पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक उन्नति गर्न सकिने बुझेपनि उनीहरुले दुध विक्री गरेर मनग्ये आम्दानी गरिरहेका छन् । 

अहिले यहाँका अधिक कृषकहरुको मुख्य आयको श्रोत नै दुध बनेको छ । यहाँका कतिपय विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर गाईपालन थालेका छन् । यसअघि दुई पटकसम्म विदेश गएर फर्किएका यहाँका इन्द्रप्रसाद दाहाल नेपालमा कृषि पेशामा उल्लेख्य सम्भावना रहेको बताउनुहुन्छ । 

सहकारीको सहयोग पाएपछि विदेश जाने सोच नै हरायो, विदेशमा पनि परिश्रम नै गर्नुपर्छ, त्यही परिश्रम स्वदेशमा गर्ने हो भने मनग्ये आम्दानी हुन्छ, दाहाल भन्नुहुन्छ । दाहालले दैनिक २० लिटर दुध विक्री गर्दै आउनुभएको छ । 

दाहाल जस्तै अन्य कृषकहरुबाट पनि दैनिक २ देखि २० लिटरसम्म दुध संकलन हुने गरेको छ । यसरी सहकारीले संकलन केन्द्रमा संकलन गरेको दुध धनकुटाको जोरपाटीस्थित दुग्ध चिस्यान केन्द्रमा निर्यात गर्ने गर्दै आएको छ । अहिले सहकारी आफ्नै लगानीमा चिस्यान केन्द्र समेत सन्चालनमा ल्याएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!