रौतहटमा प्रहरीसँगको दोहोरो भीडन्तमा एकको मृत्यु

Posted on: 14 Nov, 2016

कात्तिक २९, रौतहट | रौतहटको देवाही– ८ स्थित लालबकैया नदीको बाँधमा सोमवार बिहान हतियारधारी समूह र प्रहरीबीच दोहोरो भीडन्त भएको छ । भीडन्तमा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ भने एक जना प्रहरी घाइते भएका छन् । 

मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायको निर्देशनमा क्षेत्र र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले हतियार भित्रिएको सूचना पाएर बाँधमा पुगेको थियो । बाँधमा आएका ४/५ जनाको समूहलाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीमाथि फायर खोलिएको थियो । जवाफमा प्रहरीले फायर खोल्दा ३५/४० का हतियारधारी समूहका एक जना र बारा बबुआइन निवासी प्रहरी जवान सुरेन्द्र चौधरी गोली लागी गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि गौर अस्पताल ल्याउने क्रममा हतियारधारी समूहका एक युवकको मृत्यु भएको हो । 

घाइते मध्ये अर्का एक जनालाई गौरमा साधारण उपचार पछी थप उपचारको लागि हेटौंडामा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले इन्सास बन्दुक एक थान, मेडइन इटाली लेखिएको पेस्तोल एक थान र नलकुटा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरेको छ । बाँकी फरार रहेका हतियारधारीहरुको खोजि जारी रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!