खिनमाया बचाऊ अभियानकर्मी पत्रकार पाक्साँवा नगद ३० हजार सहित पुरस्कृत

Posted on: 15 Nov, 2016


प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । ग्रामीण क्षेत्रमा रहेर पत्रकारितासँगै समाजसेवामा संलग्न तेह्रथुमका पत्रकार प्रकाश पाक्साँवा पुरस्कृत हुनुभएको छ । पाक्साँवालाई सदरमुकामभन्दा बाहिर रहेरपनि क्रियाशील रुपमा पत्रकारिता गर्दै समाजका दीनदुःखीहरुलाई निरन्तर सहयोग पु¥याएको भन्दै प्रवासी युवा समाजसेवी देब बाँस्कोटाले नगद ३० हजारसहित सम्मान गर्नुभएको हो । 

पाक्साँवाले हालै फाक्चामारा–४ की खिनमाया लिम्बुको दुवै मिर्गौला फेल भएको समाचार लेखेर उहाँको उपचारकालागि १७ लाख रुपैयाँ बढी संकलन गराउन अभियान सन्चालन गर्नुभएको थियो । हमरजुङ–४ स्थायी बसोबास भएका पत्रकार पाक्साँवा गएको ८ वर्षदेखि पत्रकारिता पेशासँगै जिल्लामा चर्चामा हुनुहुन्छ । 

उहाँले गाउँबाट कहिले मोबाइल बाट रिपोटिङ गरेर त कहिले दिनदुःखीलाई सहयोग जुटाएर निरन्तर चर्चा पाइरहनुभएको छ । पत्रकारितासँगै समाजसेवा पनि उत्तिकै जरुरी रहेको बताउने पाक्साँवाले लेखेका समाचार र तिनको प्रभावप्रति प्रभावित भएर आफुले पुरस्कृत गरेको इजरायलमा रहेका नेपाली युवा बाँस्कोटाले बताउनुभयो । 

नेपाल घर ओयाक्जुङ–५, तेह्रथुम भएका बाँस्कोटा आफैँ समाजसेवी र सञ्चारकर्मी पनि हुन् । उहाँले हालै सञ्चालनमा ल्याएको तेह्रथुम खबर डटकम मार्फत जिल्लाको चौतर्फी विकाससँगै समाज सुधारमा सहयोग गर्ने लक्ष्य राखेका छन् । सोही अभियानका क्रममा पत्रकार पाक्साँवाले आफ्नो लक्ष्य प्राप्तिमा महत्वपुर्ण साथ दिएको बाँस्कोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले भुगोलले टाढै थियौँ, र छौँ । तर उहाँले गर्ने र मैले गर्ने सेवाको भाव भने एउटै छ ।’ उहाँको पत्रकारिता पेशाप्रतिको लगाव, त्याग र समर्पणलाई सम्मान गर्दै पत्रकारितामा निरन्तर लागिरहने प्रेरणा मिलोस् भनेर पुरस्कृत गरेको हुँ, बाँस्कोटाले भन्नुभयो ।

बाँस्कोटाको चाहाना बमोजिम सदरमुकाम म्याङलुङ्गबजारमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पाक्साँवालाई प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, पुर्व सांसद तेजमान तुम्बाहाम्फे र पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धव तिम्सीनाले संयुक्त रुपमा पत्रकार पाक्साँवालाई ढाकाको मखलर, अविरजात्रा र नगद रु. ३० हजारसहित कदर पत्रले सम्मान गर्नुभयो । 

सम्मानपछि कार्यक्रममा बोल्दै पत्रकार पाक्साँवाले आफुलाई प्राप्त भएको पुरस्कारले पत्रकारितामा अझै डटेर लाग्ने हौसला मिलेको धारणा राख्नुभयो । पत्रकार पाक्साँवाले दुई वर्षअघि सम्म मोबाइलबाटै रिपोटिङ गर्दै आएको सुनेपछि संखुवासभा घर भई हाल हङकङमा कार्यरत सरिता चाम्लिङले एक थान ल्यापटप निःशुल्क प्रदान गर्नुभएको थियो । 

ल्यापटप पाएपछि आफुले पत्रकारितासँगै गरेको समाजसेवाको प्रतिफल स्वरुप पुनः उच्च धनराशी सहितको सम्मानले आफुलाई अझै उत्प्ररित गरेको पत्रकार पाक्साँवाले बताउनुभयो । पत्रकार पाक्साँवालाई यसअघि युकेमा रहेको कुरुम्भङ समाजका शेरबहादुर कुरुम्भङ र ईश्वरबहादुर कुरुम्भङले नगद रु. ८ हजारले पुरस्कृत गरेका थिए ।

जिल्लामा यी समान राशीका पुरस्कार अहिलेसम्म स्थापित छैनन् । जिल्लामै पहिलो पटक सबैभन्दा धेरै धनराशीको पुरस्कारबाट पत्रकार पाक्साँवा पुरस्कृत भएको पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष तिम्सीनाले बताउनुभयो । 

पत्रकार पाक्साँवालाई उनी कार्यरत थुप्रै सन्चार माध्यमहरुले पनि विभिन्न समयमा पुरस्कृत गरिसकेका छन् । उनी जिल्लाको पहिलो सामुदायिक रेडियो मेन्छ्यायेम, धनकुटाको रेडियो मकालु सहित आधा दर्जन बढी चर्चित अनलाइन र पत्रिकाहरुमा कार्यरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!