जुम्लामा ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय

Posted on: 18 Nov, 2016

नन्दराम जैशी । मंसिर ३, जुम्ला । जुम्लामा रहेका १ सय ९७ वटा सामुदायिक वनहरु मध्ये ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेको पाईएको छ । कार्य सम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा जुम्लामा रहेका ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेका छन् । 

जुम्लामा रहेका सामुदायिक वनहरुको प्रगति प्रतिबेदनको आधारमा सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको हो । 

जुम्लामा करिब १ लाख ४ हजार ६ सय ७० हेक्टर जमीन सामुदायिक वनले ओगटेको जिल्ला वन अधिृकत मोहन श्रेष्ठले बताउनु भयो । अधिकृत श्रेष्ठका अनुसार ३७ प्रतिशत सामुदायिक वनको अवस्था सन्तोषजनक रहेको भन्दै ३० प्रतिशत सामुदायिक वनहरु मात्रै सक्रिय अवस्थामा रहेको बताउनु भएको छ । कार्य सम्पादनको आधारमा उत्कृष्ट सामुदायिक वनलाई अझ होसला मिलोस भन्ने उद्देश्यले पुरस्कृत गर्ने गरिएको श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन तथा वनमा सुशासन कायम गरेको आधारमा हाँकु गाविसमा रहेको महादेव गैरा सामुदायिक वन उपभोक्ता समिति १ र २ गौतमबाडा प्रथम भएको  बताईएको छ । 

यस्तै छुमचौर गाविसमा रहेको महोरी महादेव सामुदायिक वन उपभोक्ता समिति द्धितिय तथा कुडारी गाविसमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समितिले तृतिय स्थान हासिल गर्न सफल भएको श्रेष्ठले जानकारी  दिनुभयो ।  

चालु आर्थिक वर्षमा सामुदायिक वन तथा कबुलियती वन कार्यक्रमका लागि करिब साढे ४ लाख वजेट विनियोजन भएर  आएको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!