नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी

Posted on: 20 Nov, 2016


मंसिर ५, पोखरा । पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । 

एक दश सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वष यता जुरमुराउन थालेको छ । अन्तराष्ट्रिय रक्सी भटटीसंगै जागेको पोखरेली रगंमञ्चमा गत भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन भएको थियो । मौसम हराएको देश’ले दर्शकको साथ पाएपछि हौसिएको पञ्चामृत नाट्य समुह पोखराले नाटक ‘एक रुपैयाँ’को मञ्चन गर्ने तयारी गरेको छ । नाटक एक रुपैयाँको मञ्चन आगामी मंसिर १७ र १८ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुँदैछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भैसकेको छ ।

पोखरेली रंगमञ्चमा युवाहरुको आर्कषण बढ्दै गएकोले नाटकको मञ्चनले तिव्रता पाउन लागेको हो । यसले नाट्य क्षेत्रका दर्शक एवं शुभचिन्तकको नाटक हेर्ने तृष्णा मेटिएको मात्र नभई समग्र पोखरा नाटकमय बन्न थालेको छ । 

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकमा सह–निर्देशन विष्णु प्रसाद गौतम, संयोजन परिवर्तन, प्रबन्धक उज्वल रेग्मी, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषी, भेषभुषा र श्रृंगार दिपकमान उदास, कोरीयोग्राफिको जिम्मा निलम तामाङले पाउनुभएको छ ।

नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिइने नाटककार उदासीले बताउनुभयो । ‘बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ’ उहाँले भन्नुभयो । 

गाँउबाट शहर झरेका ४ जना युवति कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरिदैछ । आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन हो एक रुपैयाँ । शहरमा दैनिक रुपमा घट्ने यस्ता घटनालाई टपक्क टिपेर नाटकमा ढाल्दै समाजलाई सचेतना प्रदान गर्ने जमर्को उदासीले यो नाटक मार्फत गर्दैहुनुहुन्छ । 

उहाँको यो १ सय ५ औ नाटक हो । पञ्चामृत नाट्य समुहको तेस्रो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाउनुभयो । समुहको पहिलो प्रयासमा गत बैशाखम पुलिस र प्यास नाटक मञ्चन गरिएको थियो । पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । यो समुहले सडक नाटक समेत देखाउने योजना बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!