भोजपुरका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था

Posted on: 21 Nov, 2016


मङ्सिर ६, भोजपुर । यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्ने निर्णय गरेको छ । 

बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णय गरियो । 

भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ । 

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र र स्काभेटरको समेत प्रयोग गरिएको थियो । 

साँघुरो सडक र बाक्लो घर भएका कारण आगो बेलैमा नियन्त्रणमा ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताउनुभयो । आगलागीबाट रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!