कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्ने एक कार्यक्रमका सहभ

Posted on: 23 Nov, 2016

ललित बोहरा /८ मंसिर डडेल्धुरा । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले आफ्नो कार्य सम्पादनमा अझै तदारुकता देखाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जिल्ला कानुनी सहायता समिति, सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराद्धारा आयोजित ‘कानुनी सहायता सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु सँगको १ दिने अन्र्तक्रिया’ कार्यक्रमका सहभागिहरुले कानुनी सहायता केन्द्रबाट नागरिकले धेरै कुराको अपेक्षा गरेकाले सोहि ढंगले कार्य सम्पादनमा तदारुकता देखाउनुपर्ने बताएका थिए । कार्यक्रममा सरोकारवाला निकायहरुसँग अन्र्तक्रिया समेत गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी उदय वहादुर सिंहले महिलामाथि हुने सबै प्रकारका हिंसापीडितहरुलाई उचित प्रकारको न्याय र दोषीलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताएका छन ।

    समाजमा मौलाइरहेका अपराधका घटनाहरु र घरेलु हिसांलाई कम गर्न बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत थाल्नुपर्ने उनले बताएका छन । यस्तै जिल्ला न्यायाधिवक्ता बद्री प्रसाद नेपालले कानुनी सहायता केन्द्र विशेष गरी असहाय, पिडित र दलितहरुका लागि लागु गरिएको बताएका थिए । असहाय, पिडित र दलितहरुलाई छिटो छरितो न्याय दिँदा सहायता केन्द्रप्रतिको विश्वास बढ्ने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिश देव कुमार गिरीले मुद्धामा दुवै पक्षलाई राखेर हेरिनु पर्ने, विभिन्न संघ–संस्थामा आबद्ध सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट दायित्व पुरा गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा महिला अधिकारकर्मी, मानवअधिकारकर्मी लगायतका सम्बन्धित निकायका प्रमूख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच बुधबारै सामाजिक कानूनी सहायता केन्द्र डडेल्धुराले एक शिविरको आयोजना गरी डडेल्धुरा कारागारमा रहेका कैदीहरुलाई कानुनी सहायता प्रदान गरेको छ ।

    कानुनी शिक्षा नपाई लामो समय सम्म कैदी बन्दी भएकाहरुलाई कानुनी प्रक्रिया बारे जानकारी गराउने र कैदीहरुको अबस्थाको बारेमा जानकारी लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक जिल्ला कानुनी सहायता केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा कारागारमा रहेका ३९ जनाहरुको अबस्था बारे समेत जानकारी लिइएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!