बालमैत्री शिक्षणका लागी सिकाई सामंग्री निर्माण तालिम

Posted on: 30 Nov, 2016


मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट शुरु भएको छ । 

उदयपुरको पश्चिमी क्षेत्रका गाविसहरु ईनामे, ओख्ले, लिम्पाटार र तावाश्रीका डेढ दर्जन विद्यालयका करिब २ दर्जन ग्रेड शिक्षकहरुलाई तालिममा सहभागी गराईएको जिल्ला शिक्षा कार्यालय उदयपुरका श्रोत व्यक्ती तालिमका सहजकर्ता विनोदकुमार ठाकुरले बताउनुभयो । 

शैक्षिक सामंग्रीको अत्यधिक प्रयोग गर्ने गराउने, शिक्षण सिकाईलाई बालमैत्री बनाउने, सिकाई प्रक्रियामा बालबालिकाहरुको अभिरुची बढाउने र आकर्षित गर्ने मुख्य उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाज(जिड्स)का शिक्षा परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । 

वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विगत ३ बर्ष देखि पश्चिमी क्षेत्रका ६ वटा गाविसहरुमा संचालित शिक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको साहले बताउनुभयो । यस तालिमले ४ गाविसका प्राथमिक तहका करिब ९ सय बालबालिकाहरुको शिक्षण सिकाईमा प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।  


शनिवार सम्म कटारी स्थित होटल माछापुच्छ्रेमा संचालित सो तालिममा सहभागी शिक्षकहरुले आफैले स्थानिय सामंग्रीहरुको प्रयोग गरेर नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयलाई समेट्दै क्यालेण्डर, अक्षर पत्ति, मात्रा पत्ति, शब्द पत्थि, अंक पत्ति, शब्द जाल, नमुना घडी, हात्ते टिभी, गित चार्ट, पुतलीको जीवनचक्र, रंग मोडेल, आलु स्टाम्प, सौर्य मंडलको मोडल, फिरफिरे लगायतका सिकाई सामंग्री निर्माण गर्न सिक्ने तालिमका सहजकर्ता ठाकुरले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!